सरकारको नेतृत्व कस्ले गर्ने भन्नेमा आज छलफल हुने

काठमाडौं । हिजो साँझ बसेको सत्ता गठबन्धनले सरकारको नेतृत्वबारे कुनै निर्णयमा पुग्न नसकेपछि बैठक आइतबार बिहान फेरि बस्ने भएको छ। बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो । सरकारको नेतृत्व कस्ले गर्ने भन्नेमा आज छलफल हुने जनाइएको छ ।

निर्वाचन सम्पन्न भएपछि शनिबार बसेको पाँचदलीय गठबन्धनका शीर्षनेताहरूको बैठकले निर्वाचन परिणाम र आगामी दिशाबारे छलफल गरेको र थप छलफल आज बस्ने गर्ने गरी टुङ्गिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभएको थियो।

“निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमबारे गम्भीररूपमा छलफल भएको छ र आगामी दिनमा कसरी जाने भन्नेबारे पनि छलफल भएको छ । जनताको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा पनि हामी सहमतिमा पुगेका छौँ”, मन्त्री कार्कीले भन्नुभयो ।

आज मुख्यगरी अहिलेको राजनीतिक परिस्थीतिबारे छलफल गरिएको उहाँको भनाइ छ । अब बन्ने सरकारमा गठबन्धनले निरन्तरता पाउने पनि कार्कीले बताउनुभयो । “अहिलेको सन्दर्भमा प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण विषय हो । यसमा हलो अड्किन्न । मुलुकलाई अहिलेको जनताको आकाङ्क्षाअनुसार कसरी अगाडि बढाउने भन्ने कुरा हो । गठबन्धनकै नेतृत्वमा सरकार बन्छ”, सञ्चारमन्त्री कार्कीले भन्नुभयो ।

नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गर्नुभएको थियो । यदि आज सहमति हुन सकेन भने राष्ट्रपतिसँग थप समय माग गर्ने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा ९१० बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा ९२० अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार बेलुका ५ बजे भित्र दाबी पेस गर्न राष्ट्रपतिले दलहरूलाई आह्वान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *