एजेन्सी । चीनमा बेरोजगार दर दैनिक रूपमा बढ्दै गएको एक तथ्यांकले देखाएको छ । अमेरिकी समाचार संस्था सीएनएनले गरेको अध्ययन अनुसन्धानकै क्रममा चीनमा १६ देखि २४ वर्ष उमेरका करिब २ करोड मानिसहरू बेरोजगार रहेका खुलासा भएको हो । यद्दपी तथ्यांकमा ग्रामीण बेरोजगारी दर भने समावेश गरिएको छैन । युवा बेरोजगारी दर गत मार्चमा १५ दशमलव ३ प्रतिशतबाट बढेर अप्रिलमा १८ दशमलव २ प्रतिशतमा पुगेको छ ।
अर्को केही महिनासम्म निरन्तर बढ्दै जुलाईमा १९ दशमलव ९ प्रतिशतमा पुगेको थियो । गत अगस्टमा भने यो दर थोरै घटेर १८ दशमलव ७ प्रतिशतमा झरे पनि बेरोजगार दर अझै पनि अहिलेसम्मकै उच्च रहेको राष्ट्रिय तथ्यांकले देखाएको छ । चीनको शहरी युवा जनसंख्या १ करोड ७० लाख रहेकोमा युवा बेरोजगारी दर यो वर्ष नयाँ उचाइमा पुगेको हो ।
कोभिडका कारण सिर्जना भएको बेरोजगारीका कारण हरेक ५ जना मध्ये एक जना सक्षम चिनियाँ कामबाट वञ्चित भएको जनाइएको छ । चीनमा सञ्चालित शीर्ष कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई निष्कासन गर्दा देशले आर्थिक गिरावटको सामना गरिरहेको छ ।