गर्विलो इतिहासका रक्तिम पानाहरूमा स्वर्णिम अक्षरहरू
त्यति सजिलै लेखिएका होइनन् महाशय !
त्यति सजिलै भत्किएका होइनन्
एउटै राष्ट्रभित्रका जटिल र बलिया सीमा रेखाहरू।
आँसु मिसिएर हो कि किन हो नुनिलो पानी बगाउने नदीहरू
एकीकृत नेपालको छातीमा छाती खोलेर बग्ने वातावरण
त्यति सजिलै सिर्जना भएको होइन।
दुल्लु राज्यमा वहने वायुले गोर्खाराज्यका
पिपलका पातमा चुम्बन गर्ने ऐतिहासिक अनुमति पाएको,
सिँजा राज्यको स्वच्छ र पवित्र प्राणवायुले
कान्तिपुर राज्यमा प्रवेश अनुमति पाएको,
आफ्नै सन्तानहरूद्वारा आमाका काख समेत बाँडिएको
दुर्दशा चिरिएको समय उनकै पालाको हो।
हिजोआज त देशमा दक्षिण र उत्तरबाट
अपहेलना , दमन बोकेको प्रदुषित वायु निर्भय प्रवेश गर्छ र
हाम्रो राष्ट्रिय एकतालाई प्रतिकुल असर गरी जान्छ ।
यस्तो बेलामा म उन(पृथ्वीनारायण )लाई सम्झन्छु।
उनी(पृथ्वीनारायण ) नभएको भए,
पश्चिम क्षेत्रको गौरा पर्व कुमाउ गढ्वालतिर पसिसकेको हुन्थ्यो।
सिक्किम, आसाम र दार्जिलिङ्का साघुँरा गल्लिमा लुकिरहेका हुन्थे;
धान , चण्डी , र च्याब्रुङ् नाचहरू।
जटजटिन नृत्य र झिझिया नाच उत्तराखण्डतिर बसाइँ सरिसक्थे।
घाटु नाच र रोदी नाच नेपाली मूलका तिब्बतिहरू नाचिरहेका हुन्थे।
ल्होसार पर्व पनि ल्हासाकै सेरोफेरोमा अल्झिइरहेको हुन्थ्यो।
यति मात्रै होइन उनी नभएको भए
चर्या नाच र कार्तिक नाच पनि कान्तिपुरमै विलीन भैसक्थे।
“वसुधैव कुटुम्बकम्” को महान
सभ्यता बसालेर
जुम्ली, जाजरकोटी , नुवाकोटे, गोर्खाली , कान्तिपुरे, पाल्पाली यी सबैलाई
नेपाली बनाएर अनेकताभित्रको एकता कायम गर्ने देन उनकै हो।
स्वर्ग जाने कोही हुलाकी भए आँसुको मसिले लेखेको
एउटा वियोगान्त चिठी पठाउनु थियो।
देख्ने भए उनले देशको चाउरि परेको मानचित्र देखाउन मन थियोे।
तर के गर्नु?
समय उल्टो चलेको बेला सबै कुराहरू असम्भवप्राय: नै हुँदारहेछन्।
अचेल म उनको शालिकको मुनि बसेर खल्बलिएको
राष्ट्रिय एकता, धर्मराइरहेको राष्ट्रियता, खण्डित अखण्डता , पराधीन स्वाधीनता
मनभित्रै लुकाएर आफैँलाई सोध्दै छु अनुत्तरित प्रश्नहरू
” कहाँ गए पृथ्वीनारायण ?”, “कहाँ गयो एकता ?”
सोच्दैछु;- एकता त सति नजानु पर्ने !
लक्ष्मण सङ्गम
ढकारी गा.पा. १ अछाम