काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँलेले उकालो लागेको छ । स्थानीय बजारमा सुनको मूल्य लगातार उकालो लागेको हो। गत शुक्रबार एक लाख एक हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य पुस महिनाकै उच्च हो । पुस ७ गते भने सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तर, त्यस यताका कारोबार दिनमा सुनको मूल्य एक लाख ९०० रुपैयाँसम्म झरेको थियो ।
सुनको मूल्य गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च एक लाख पाँच हजार ५०० पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बढ्दै जाँदा सुनको मूल्य बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले जानकारी दिए । विश्व बजारमा मूल्य बढेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको उनको भनाइ छ । नेपालमा अहिले सुनको माग कम हुने गरेको उनले बताए । त्यस्तै आज चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।