काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ ।
आइतबार स्थायी कमिटी बैठक बसेको भए पनि कुनै निर्णय नभएको र यही विषयलाई पोलिटब्युरो बैठकमा लैजान लागिएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो ।
“वाम दलहरूलाई एकैठाउँमा उभ्याउनका निम्ति हामीले अग्रसरता लिने भन्ने छ । अहिले नै कुनै पार्टीसँग एकतामा जाने कुरा छलफलमा आइसकेको छैन । सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि भोलि बस्ने पोलिटब्युरो बैठकले नै टुङ्गो लगाउनेछ”, प्रवक्ता खतिवडाले भन्नुभयो ।