काठमाडौं। नेपाल टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत काठमाडौं नाइट्सले चौथो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा काठमाडौंले बिराटनगर सुपर किंग्सलाई ३४ रनले पराजित गर्दै चौथो जित दर्ता गरेको हो । सात खेलमा बिराटनगरको यो पाँचौ हार हो । काठमाडौंले भने सात खेलमा चौथो जित हात पारेको हो ।
पारिश्रमिक विवादका कारणका ९ ओभरमा सिमित भएको खेलमा ९३ रनको लक्ष्य पछ्याएको बिराटनगरले ८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ५८ रन मात्र जोड्यो । बिराटनगरका लागि गौरान्सु शर्माले २२ रन तथा विवेक यादवले १२ रन बनाए । काठमाडौंका कमल ऐरीले सर्वाधिक ३ विकेट लिए । सुनम गौतम र अनिल खरेलले समान २-२ विकेट तथा अविनाश बोहरा र बसिर अहमदले १/१ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनायो । काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक ३२ रन बनाए । बिराटनगरका नन्दन यादवले ३ तथा हुसेन तलत र केयोन जोसेफले १/१ विकेट लिए ।