काभ्रे जिल्ला कोरोनामुक्त

बनेपा । काभ्रेपलाञ्चोक जिल्ला कोरोनामुक्त भएको छ । जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नदेखिएकाले कोरोनामुक्त भएको निष्कर्ष निकालिएको हो । जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना परीक्षण गरिएको थियो । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् ।

चार दिनअघि बनेपा नगरपालिकामा रहेका एक कोरोना सङ्क्रमित पुरुष निको भएपछि जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको हो । केन्द्रका अनुसार जिल्लामा हालसम्म दुई वर्षको अवधिमा १७ हजार ५५६ मा सङ्क्रमण देखिएकामा १९५ जनाको मृत्यु भएको थियो । कोरोना सङ्क्रमणको तेस्रो लहरमा जिल्लाका एक पुरुषको मात्र मृत्यु भएको छ ।

चार दिनदेखि दैनिक दुई दर्जन हाराहारीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाको परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमण नदेखिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीएमसी)का सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पुरुषोत्तमराज सेढाईँले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि कोरोना सङ्क्रमणको दोस्रो लहरपश्चात अर्थात् मङ्सिरमा पहिलोपटक जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको थियो । 

सदरमुकाम धुलिखेलस्थित प्रदेश प्रयोगशालामा कोरोना लक्षण देखिएका व्यक्तिको परीक्षण भइरहने सेढाईँले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *