नेकपा एसले माघ र फागुनमा प्रशिक्षण संचालन गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी स्कुल विभागको बैठक बुधबार पार्टी उपाध्यक्ष तथा विभागका प्रमुख प्रमेश हमालको अध्यक्षतामा बसेको र बैठकले आगामी माघ र फागुन महिनामा पाटीका प्रदेश जिल्ला र प्रवास स्तरमा प्रशिक्षण संचालन गर्ने निर्णय गरेको छ ।

विभागको बैठकमा समसामयिक राजनैतिक परिस्थितिको समीक्षा गरिएको थियो । बैठकले तत्कालीन कार्ययोजना निर्माण गरी प्रदेश स्तरीय आवासीय प्रशिक्षण, जिल्ला प्रशिक्षण, सबै तहको पार्टी स्कुलको पूर्णता, पार्टी स्कुल प्रशिक्षण म्यानुअल’ प्रकाशन गर्ने लगायतका विषयमा छलफल सहित निर्णय भएको पार्टीका केन्द्रीय सदस्य तथा पार्टी स्कुल विभागका सचिव अशेष घिमिरेले बताउनुभयो ।

कार्ययोजना अनुसार विभिन्न जनसङ्गठनहरूमा स्टडी ग्रुप बनाएर वैचारिक काम प्रवर्द्धन गर्न मोर्चा सङ्गठनसँग पौष भित्रमा बैठक बस्ने, माघ १५ गतेभित्रमा सबै प्रदेश र जिल्ला पार्टी स्कुल विभाग गठन गरि बैठक गरिसक्नुपर्ने, प्रदेश स्तरमा फागुन १५ भित्रमा ३ देखि ५ दिनको दिवसीय प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने जसमा हरेक जिल्लाबाट निर्वाचन क्षेत्र बराबरको संख्यामा सहभागिहरू छनौट गरिने जनाईएको छ । त्यस्तै, फागुन महिनाभित्र जिल्ला तहमा कम्तिमा २ दिवसीय आवासीय प्रशिक्षण सञ्चालन गरिने छ ।

केन्द्रीय पार्टी स्कुलले आयोजना गरेको प्रशिक्षक प्रशिक्षणका विषय र अनुभवलाई आधार बनाएर पार्टीको प्रशिक्षण म्यानुअल’ र विभिन्न विषयमा प्रशिक्षण पुस्तिका’ तयार गरि फागुन १५ भित्र प्रकाशन गर्ने कार्ययोजना तय गरिएको छ ।

यस्तै, निर्वाचन अगाडि सञ्चालन भै रहेको केन्द्रीय प्रशिक्षक प्रशिक्षणको अर्को शृंखला फागुन भित्रमा सञ्चालन गर्ने , पार्टी एकीकरणका प्रक्रियाबाट पार्टीमा आउनुभएका कमरेडहरु, केन्द्रीय विभागहरु, प्रवास कमिटीहरु, तथा प्रारम्भिक पार्टी स्कुल बाँकी रहेका अन्य जनसंगठनहरु , उपत्यकाका जिल्ला कमिटीलाई ध्यानमा राखेर नियमित पार्टी स्कुल बिहान माघबाट क्रमशः सञ्चालन गर्ने, प्रवास कमिटी र जिल्ला पदाधिकारीहरुका लागि जुममार्फत विशेष प्रशिक्षण माघ महिनामा सञ्चालन गरिने, जिल्ला पदाधिकारीहरुको प्रशिक्षण प्रदेश अनुसार गरिने, हरेक तहको कमिटीको बैठक प्रशिक्षण गर्नेमा ध्यान केन्द्रित गर्ने, जुनसुकै तहको पार्टी कमिटीका हरेक बैठकहरु राजनीतिक तथा वैचारिक विषयहरूमाथि छलफल गरेर सञ्चालन गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु भएको विभागका सचिव घिमिरेले बताउनुभयो ।

बैठकले मुलुकलाई दक्षिणपन्थी र अवसरवादी भड्कावबाट जोगाउँदै वाम लोकतान्त्रिक आन्दोलनलाई सही दिशा दिन ऐतिहासिक दायित्व हाम्रो पार्टीले निर्वाह गर्नुपर्ने भएको भन्दै वाम आचरण र जागरणका लागि विशेष ध्यान दिनुपर्ने समीक्षा गरिएको छ । बैठकले पार्टीलाई व्यापक सैद्धान्तिक तथा सांगठानिक पुनर्गठनतिर लिएर जानुपर्ने सवालमा छलफल गरेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *