काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउने बताउनु भएको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको जानकारी दिनुभएको हो।
१० पुसमा प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार प्रधानमन्त्री प्रचण्डले २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएको छ।
२५ पुसबाट संघीय संसदको अधिवेशन सुरु हुँदै छ । यसको भोलिपल्ट बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गर्न प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयलाई पत्राचार गरिसक्नु भएको छ । यसर्थ २६ पुसपछि मात्रै सरकारले पूर्णता पाउने भएको छ ।