काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले संसद् विघटनको अधिकार प्रधानमन्त्रीमा नरहेको बताउनुभएको छ । मंगलबार संसदमा सम्बोधन गर्ने क्रममा उहाँले प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने बताउनुभएको हो ।अध्यक्ष नेपालले संसद विघटन गर्ने अधिकार नरहेकाले यस्ता गोलचक्करमा नपर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।नेता नेपालले अधिकार माग्नेप्रति मात्र होइन कर्तव्यप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उहाँले अधिकार माग्ने मात्र होइन कर्तव्य निर्वाहमा जिम्मेवार हुनेप्रति ध्यान जानुपर्ने बताउनुभयो ।
बजेट कनिका छरेर देश समृद्धि नहुने भन्दै अध्यक्ष नेपालले भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । देशको सबै धर्म, संस्कृति र भाषालाई जोगाउनुपर्ने बताउँदै उहाँले देशको अर्थतन्त्रको आधार रहेको कृषि क्षेत्रको विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
साथै, अध्यक्ष नेपालले वर्तमान सरकारलाई १५ बुँदे सुझाव पनि दिनुभएको छ । राष्ट्रिय स्वाभिमान, सन्तुलन परराष्ट्रनीति, संविधानको रक्षा र परिपालन, भ्रष्टाचारमुक्त समाज, भ्रष्टाचारीलाई राजनीतिक संरक्षण नगर्ने प्रतिबद्धता लगायतका सुझावका आधारमा नेकपा एकीकृत समाजवादीले सरकारलाई विश्वासको मत दिदैँ रचनात्मक प्रतिपक्षमा बस्ने निर्णय गरेको बताउनुभएको हो ।
अध्यक्ष नेपालका सुझाव :
१ राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई सर्वोपरि ध्यान दिनुपर्ने ।
२ सन्तुलन परराष्ट्रनीतिः नेपाल कसैको खेल मैदान नबनोस् भन्नेमा चनाखो हुनुपर्ने
३ संविधानको रक्षा, परिपालन र संघीयताको कार्यान्वयन ।
४ सुशासनको सुनियोजित्ता
५ संकटग्रस्त अर्थतन्त्रबाट देशलाई उन्मुक्ति
६ नेपाली नमुनाको समाजवाद
७ बेरोजगारी समस्या सामधानः देशभरका युवालाई सीप मूलक तालिम
८ जनजिविकाको समस्याः महँगी, कालोबजारी नियन्त्रण
९ सुसंस्कृत समाजको निर्माण
१० सबैखाले भाषा, संस्कृति र धर्मको सम्मान
११ भौतिक संरचनाको विकास
१२ वातावरण संरक्षणः विशेषगरी चुरे र जलाधार क्षेत्रको संरक्षण
१३ वैज्ञानिक शिक्षा र स्वास्थ्य प्रणालीमा सुधार
१४ कार्यशैलीमा परिवर्तन
१५ समावेशीताको सुनिश्चिता