मकवानपुर । प्रदेश सरकारले २० वर्ष पुरानो ट्याक्सीलाई विस्थापित गरी विद्युतीय सवारी प्रयोगमा ल्याउने नीति अवलम्बन गर्ने भएको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावलीमा यस विषयलाई समेट्ने तयारी गरेको हो । मन्त्रालयले पुरानो ट्याक्सीलाई विस्थापन गरी विद्युतीय सवारी सञ्चालन गर्न आवश्यक कानुन निर्माण प्रक्रियासमेत अघि बढाइसकेको छ ।
वित्तीय संघीयता कार्यान्वयनमा गएसँगै यातायात क्षेत्रको नियमन र व्यवस्थापन प्रदेश सरकारको एकल अधिकार सूचीमा छ । ‘२० वर्ष पुरानो ट्याक्सीको सट्टा विद्युतीय ट्याक्सी वा सवारी सञ्चालन गर्ने ऐन निर्माण प्रक्रिया अगाडि बढाएका छौं,’ श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले भन्नुभयो ।
उहाँका अनुसार बढ्दो पेट्रोलियम पदार्थको मूल्यका कारण सवारी भाडा निर्धारणमै समस्या सिर्जना भएपछि बिस्तारै विद्युतीय सवारी प्रयोगमा जोड दिन लागिएको बताउनुभयो । उनले खासगरी काठमाडौं उपत्यकाभित्र धेरै पुराना ट्याक्सी सञ्चालनमा रहेका र वातावरणीय प्रदूषणका हिसाबले पनि व्यवस्थित गर्न जरुरी भइसकेको बताउनुभयो ।