उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको संख्यामा तीव्र वृद्धि

काठमाडौं । व्यापार घाटाबाट मुलुकको अर्थतन्त्र घाइते बनिरहेको बहस चलिरहँदा नेपालबाट उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको माध्यमबाट वर्षेनी ७० अर्ब बढी रुपैयाँ विदेशिएको डरलाग्दो तथ्यांक बाहिरिएको छ । नेपालबाट वर्षेनी ३० देखि ३५ हजार विद्यार्थी विदेश पढ्न जाने गरेका छन् ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनामा विदेश अध्ययन शीर्षकमा २९ अर्ब रकम बाहिरिएको तथ्यांक रहेको छ । कोभिडको समयमा विद्यार्थी बापत बाहिरिने रकम भने न्यून रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा २४ अर्ब ९६ करोड शिक्षाको लागि बाहिरिएको छ भने चालु आर्थिक वर्ष २०७८ /७९ मा विदेश अध्ययनका लागि बाहिरिने रकम उल्लेख्य बढेको छ । सो आर्थिक वर्षमा ६७ अर्ब ७० करोड बाहिरिएको राष्ट्र बैंक तथ्यांकले जनाउँछ ।

आर्थिक वर्ष ७८/७९ भन्दा आर्थिक वर्ष ७९/८० मा ७६ प्रतिशत रकम शिक्षाको लागि बाहिरिएको छ । यो बाहेक विदेशी सम्बन्धन प्राप्त कलेजहरूले हुन्डीलगायत अनौपचारिक अर्थात गैरकानूनी माध्यममार्फत पनि विदेशमा पैसा पठाउने गरेको तथ्यांक राष्ट्र बैंकसँग छैन ।

पछिल्लो समय देशको अर्थतन्त्रको रकमको ठूलो हिस्सा आयातमा खर्च हुने कारणले देशको अर्थतन्त्रका सूचकलाई सामान्य मान्न सकिंदैन । आयात कम गर्न सरकार र राष्ट्र बैंकद्वारा अबलम्बन गरिएका नीतिगत व्यवस्थाले पछिल्ला महिनामा अर्थतन्त्रका सूचकहरूमा क्रमिक सुधार आउन थालेको भएपनि वैदेशिक अध्ययन शीर्षकमा ठूलो रकम बाहिरिएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने चुनौति थपिएको राष्ट्र बैंक स्वयं स्वीकार्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us