निजगढ विमानस्थलको विकल्प छैन

काठमाडौं । हवाई यात्रुको बढ्दो चाप व्यवस्थापनका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको विज्ञ एवं सरोकारवालाहरुले औँल्याएका छन् । हाल काठमाडौँ, भैरहवा र पोखरामा तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि निजगढ विमानस्थलको विकल्प नभएको उनीहरुको जिकिर छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतम मुलुकमा हवाई यात्रुको सङ्ख्या निरन्तर बढिरहेका सन्दर्भमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिलेको हवाई ‘ट्राफिक ग्रोथ’ हेर्ने हो भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कुनै विकल्प छैन । निजगढ छिटोभन्दा छिटो बन्नैपर्छ ।”

गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताउनुभएको थियो । उहाँले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको स्पष्ट पार्नुभएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यही माघ ३ मा पदबहाली गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ‘गेम चेञ्जर’ परियोजना भएकाले निजगढमा विमानस्थल बन्नेमा विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तीव्ररुपमा अघि बढाइने उद्घोष पनि गर्नुभयो ।

सरकारले बाराको निजगढमा प्रस्तावित निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरिसकेको छ । वातावरणको विषयले निर्माणमा विलम्ब भएको उक्त आयोजना पुनःचर्चाको विषय बनेको हो ।

क्यानका पूर्वमहानिर्देशक गौतमका अनुसार प्रत्येक वर्ष १० प्रतिशतले हवाई यात्रु बढिरहेका छन् । एक करोड यात्रु क्षमताको काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्ष नै ७३ लाख यात्रु पुगेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक १० लाख यात्रु क्षमता हो । भैरहवाको सबै सुविधा भएमा लगभग वार्षिक एक करोड यात्रु व्यवस्थापन गर्न सकिन्छ ।

“यही दरमा ट्राफिक ग्रोथ हुने हो भने हामीलाई निजगढ विमानस्थल निर्माण नगरी सुखै छैन”, उहाँले भन्नुभयो । निजगढ विमानस्थल बनेको भए पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने अवस्था नआउने उहाँको भनाइ छ । दुई विमानस्थलमा लगानी भएको खर्चले निजगढ विमानस्थल बन्ने उहाँको बुझाइ छ ।

पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतम पनि देशभित्र पूर्ण सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ विमानस्थल नै उत्तम विकल्प भएको बताउनुहुन्छ । “नेपालमा अहिलेसम्म ‘फुल फ्लेज इन्टरनेश्नल एयरपोर्ट’ छैन । ‘प्यारालल रनवे’सहितको पूर्ण क्षमताको विमानस्थलमा आफ्नै ‘एयर स्पेस’ मा उडान र अवतरण गर्नसक्ने विमानस्थल छैन, त्यसैले निजगढ विमानस्थल आवश्यकता हो”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *