काठमाडौं । बागमती प्रदेश सरकारले किसानलाई दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान प्रदान गर्ने बताएको छ। कृषि तथा पशुपंक्षी विकासमन्त्री केशवप्रसाद पोखरेलले किसानहरूलाई दूध उत्पादनमा जोड दिन र सिधा वास्तविक किसानकै हातमा राज्य छ भन्ने अनुभूति गराउनलाई उक्त अनुदान प्रदान गरिने भएको बताएका हुन्।
मन्त्री पोखरेलले भने,‘बागमती प्रदेश सरकार अन्तर्गत बागमती सरकारले लिटरमा ५ रुपैयाँ अनुदान दिन लागेको यसै वर्षदेखि हो, त्यसका लागि दुग्ध उत्पादक कृषि सहकारी र भरपर्दो सहकारी संस्थाहरूबाट किसानसमक्ष प्रदान गर्ने निर्देशन दिइएको छ।’
बागमतीको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दूधमा अनुदान दिन यो वर्ष ३० करोड रुपैयाँ बजेट छुट्याएको छ। मन्त्री पोखरेलले बागमती प्रदेशलाई आधुनिक खेती प्रणालीबाट जनजीविकालाई सहज र परिणाममुखी बनाउन हरेक गतिविधि सञ्चालन गरिने जानकारी दिए।
सानो परिमाण दूध उत्पादन गर्ने किसानहरूले राज्यबाट अभिभावकीय भूमिका महसुस गरून् भन्दै प्रदेश सरकारले यो कार्यक्रम लागू गरिएको मन्त्री पोखरेलको भनाइ छ।