काठमाडौं । नेपाली चलचित्र ‘ह्यारी की प्यारी’को प्रिमियर शो भएको छ । प्रिमियर शोमा चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ ।
काठमाडौंको एक हलमा चलचित्रको प्रिमियर शो भएको हो । प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै चलचित्र निर्देशक डा.कपिल रिजालले आगामी दिनमा चलचित्र क्षेत्रलाई झनै राम्रो दिने र आफ्नो ब्यानरबाट चलचित्र बनाउने कुरामा निरन्तरता दिइरहने बताएका छन् । उनले चलचित्रमा आफूले सानो कोशिस गरेको र सबैले साथ दिनुहुनेमा विश्वस्त रहेको बताएका छन् ।
त्यस्तै, कलाकार केदार घिमिरेले चलचित्र एकदमै उत्कृष्ट बनेको बताए । घिमिरेले चलचित्र अभिनय र कथावस्तुका हिसावले राम्रो भएको भन्दै प्रसंशा गरे । त्यस्तैगरी वरिष्ठ कलाकाकर सन्तोष पन्तले चलचित्रमा बनाइएको हिरो मनको हिरो रहेको बताएका छन् । पन्तले चलचित्रमा कलाकारको अभिनय पनि उत्कृष्ट रहेको बताएका छन् ।
चलचित्रमा अभिनेत्री रहेकी साम्रज्ञीराज्यलक्ष्मी शाहले चलचित्र हेर्दा आफूलाई धेरै नै खुशी लागेको र चलचित्र सबै दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताएकी छन् त्यस्तै अभिनेता रहेका जितु नेपालले आफूलाई चलचित्र हेरिसकेपछि आएको प्रतिक्रियाबाट धेरै नै खुशी लागेको बताए ।
त्यस्तै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले फिल्म नराम्रो भएपनि राम्रै भन्नुपर्ने होला भन्ने सोच बनाएर आएको भएपनि सोचेको भन्दा धेरै राम्रो रहेको बताएका छन् ।