काठमाडाैं । मोरङको सुन्दरहरैँचा नगरपालिका– १० मा लोहन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समितिले आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले विगत एक महिना अगाडि वन कार्यालयमा लगाएको ताला अझै खुल्न सकेको छैन ।
वन समितिको मिलेमतोमा रु ३० करोडभन्दा बढी आर्थिक अनियमितता भएको आरोप लागेको हो । उपभोक्ता मित्रसेन योञ्जनले रु ३० देखि ३५ करोड संस्थाका अध्यक्ष दीपनारायण खाँ र सदस्यसचिव सबडिभिजन वन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझीलगायतको मिलेमतोमा भ्रष्टाचार भएको आरोप लगाउँदै ताला लगाउनुपरेको बताउनुभयो ।
वन कार्यालयको भवन निर्माणमा समेत भ्रष्टाचार भएको योञ्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “साझेदारी वन भए पनि विधान दर्ताबिनै काम भएर वन ऐनको निर्देशिकाविपरीत धेरै मात्रामा सालको काठ काटी भ्रष्टाचार गरिएको छ ।” योञ्जनले वन ऐनअन्तर्गत साझेदारी वनको रूपमा दर्ता भएर सबैसामु नियमानुसार हिसाब पारदर्शीरूपमा सार्वजनिक भएपछि मात्र वन कार्यालयको ताला खुल्ने जानकारी दिनुभयो । योञ्जन सोही साझेदारी वनमा खाँसँग अध्यक्ष पदमा पराजित हुनुभएको थियो ।
गत मङ्सिर १७ गते भएको वनको साधारणसभामा पनि पारदर्शिता नभएको, षड्यन्त्रपूर्ण ढङ्गले साधारणसभा गराएर पुरानै अध्यक्षलाई विजयी बनाएको स्थानीय उपभोक्ता गीतामणि दाहालले बताउनुभयो ।
साझेदारी वनमा व्यापक अनियमितता हुने गरेको, सार्वसाधारण उपभोक्ताले प्रयोग गर्न नपाएर काठ कुहिएर त्यसै खेर गएको तथा आफूखुसी बिक्री वितरण भएको स्थानीय मिलन बस्नेतले बताउनुभयो ।