काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बिथोलिए, भाँडिए वा स्थगित भए त्यसको ३० दिनभित्र पुनः निर्वाचन गर्नुपर्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालयले उपत्यकाका २१ र उपत्यका बाहिरका ३९ वटा क्याम्पस प्रमुखसँग छलफल गरी चैत ५ गते निर्वाचन गराउन नसके त्यसको ३० दिनभित्र अर्थात वैशाख ५ गतेसम्म निर्वाचन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।
बैठकमा सबै क्याम्पस प्रमुखले चालु शैक्षिक सत्रको सबै तहको पठनपाठन सकिएको जानकारी दिँदै निर्वाचन गराउने प्रतिबद्धता जनाएको जानकारी दिँदै समितिका सदस्यसचिव प्रा. पशुपति अधिकारीले भन्नुभयो– ‘उपत्यका बाहिरका ३९ क्याम्पस प्रमुखले जस्तोसुकै परिस्थिति भए पनि निर्वाचन गर्ने वचन दिनुभएको छ । यदि चैत ५ गते निर्वाचन हुन नसके ३० दिनभित्र गर्नेगरी सबै क्याम्पस प्रमुखले प्रतिबद्धता जनाउनुभएको छ ।’
त्रिभुवन विश्वविद्यालय केन्द्रीय अनुगमन तथा समन्वय समितिले मंगलबार उपत्यका र बुधबार उपत्यका बाहिरका क्याम्पस प्रमुखसँग बैठक गरेको थियो । त्रिविले १५ बुँदे स्ववियु निर्वाचन आचारसंहितासम्बन्धी निर्देशिका–२०७९ बारे छलफल गरेको थियो ।