पल शाहको थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन

काठमाडौं। नाबालिका बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।

आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेश बदर गरी थुनामुक्त गर्न माग गर्दै शाहले मंगलबार निवेदन दिएका उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए । जिल्ला अदालत तनहुँले गरेको आदेश बेरीतको रहेको भन्दै शाहले तारेखमा रिहा गर्न माग गरेका उनले बताए ।

अब उच्च अदालत पोखरामा जिल्ला अदालत तनहुँले गरेको आदेश ठीक हो वा होइन भन्ने विषयमा बहस हुने आचार्यले जानकारी दिए । त्यसपछि तनहुँको आदेश ठीक हो वा तारेखमा छोड्नुपर्ने हो, आदेश हुने उनले बताएका छन्।

अभिनेता पल शाहले म्युजिक भिडियो सुटिङका क्रममा आफूलाई फकाइफुलाइ पटकपटक जबर्जस्ती करणी गरेको भन्दै एक नाबालिग गायिकाले फागुन ११ गते जिल्ला अदालत तनहुँमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा शाह फागुन १५ गते पक्राउ परेका थिए । जिल्ला अदालत तनहुँले चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उनका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us