सार्कलाई चलायमान बनाउनेबारे छलफल गर्यो : परराष्ट्रमन्त्री राई

काठमाडाैं । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल श्रीलङ्काको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ जानुभएका उहाँले भ्रमणसँगै विभिन्न उच्चस्तरीय भेटवार्ता समेत गर्नुभएको थियो ।

स्वदेश फर्कने क्रममा आज मन्त्री पौड्याले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रासससँग कुरा गर्दै भ्रमणका दौरान श्रीलङ्काको औपचारिक कार्यक्रममा सहभागितासँगै उच्चस्तरीय साइड लाइन भेटवार्ता भएको जानकारी गराउनुभयो ।

यसअघि मन्त्री पौड्यालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उहाँले श्रीलङ्काको स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा रहनुभएका भारतका विदेश राज्यमन्त्री, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । सबै भेटमा उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरुबीच आपसी छलफल, सहकार्य सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेलगायत विषयमा आफूले स्पष्ट कुरा राखेको बताउनुभयो ।

“सार्कका विभिन्न संयन्त्र छन्, हाल राज्य÷सरकार प्रमुखको तहमा नबसी अन्य तलका संयन्त्रबाट सार्कलाई पुनः चलायमान गर्दै लैजाने कि भन्नेलगायत विभिन्न विकल्पका बारेमा सकारात्मक छलफल भएको छ । यद्यपि यसमा अझै गृहकार्य गर्न बाँकी छ” मन्त्री पौड्यालले भन्नुभयो, “सार्कका गतिविधिलाई प्रभावकारी र पुनः चलायमान बनाउन हाल सार्क मुलुकका विदेश सचिवहरुको अनलाईन बैठक बस्ने भन्ने विषयमासमेत छलफल भएको छ ।”

श्रीलङ्काले उक्त समारोहमा दक्षिण एसियाका सबै परराष्ट्र मन्त्रीलगायत विशिष्ट पाहुनालाई आमन्त्रण गरेको थियो । श्रीलङ्काले जलवायु परिवर्तनसम्बन्धी विश्वविद्यालय स्थापना गर्ने प्रयास गरिरहेको जानकारी गराउँदै मन्त्री पौड्यालले नेपालले पनि त्यसमा सहकार्य गर्ने विषयमा छलफल भएको बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *