काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्थापना गरिएको ‘कल सेन्टर’ आजदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको छ । निर्वाचनका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न उक्त कल सेन्टर सञ्चालनमा ल्याइएको हो ।
निःशुल्क टोल फ्रि नम्बर ११०२ रहेको कल सेन्टर शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले टेलिफोनमार्फत सेवाग्राहीले सोधेका जिज्ञासालाई सम्बोधन गरे ।सेवाग्राहीको हितलाई ध्यानमा राखेर आयोगले चार अङ्कको टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । कल सेन्टरमा नौ जनाशक्ति खटाइएको छ । आगामी स्थानीय तहको निर्वाचनसँग जोडेर सेवाग्राहीका जिज्ञासा आउने क्रम पनि बढेको छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले कल सेन्टरमा सेवाग्राहीबाट आउने जिज्ञासा र गुनासालाई शिष्ट भाषामा सम्बोधन गर्न निर्देशन दिए । निर्वाचनसँग सरोकार राख्ने व्यक्ति वा संस्थाले आफूलाई आवश्यक पर्ने तथ्यको तत्कालै जानकारी प्राप्त गर्न सकोस् भन्ने हेतुले आयोगले विगतदेखि नै निर्वाचनका बेला कल सेन्टर सञ्चालन गर्दैआएको हो ।