राष्ट्रपतिमा साझा व्यक्तित्व हुनुपर्छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षक एवंं लोकतन्त्रको पहरेदार भएकाले राष्ट्रपतिमा साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन्।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले विगतको अभ्यासका आधारमा हेर्दा पनि मुलुकको प्रमुख व्यक्तित्व सबैको साझा हुनुपर्छ भन्नेमा आफूहरू प्रस्ट रहेको बताए।

उनले विगतमा भएका त्रुटिहरूप्रति सचेत रहँदै राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको बताएको माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।

बैठकमा पार्टीका महासचिव देवप्रसाद गुरुङले हालै सम्पन्न स्थायी समितिको बैठकले गरेका निर्णयका बारेमा आफ्नो धारणा राखेका थिए। बैठकमा पार्टी अध्यक्ष दाहालले समसामयिक राजनीतिक विषयका साथै पार्टीका स्थायी समितिले गरेको निर्णयका बारेमा प्रस्ट पारेका थिए।

उनले पार्टीले आगामी दुई महिनासम्म सञ्चालन गर्ने अभियानका बारेमा उल्लेख गरेका थिए। दुई महिने सङ्गठनात्मक अभियानमा पार्टीका केन्द्रीय सदस्यहरू हरेक टोल र वडासम्म पुगेर जनतासँग अन्तरक्रिया गर्ने र पार्टी सङ्गठन विस्तार गर्ने छन्। अभियानलाई माओवादीले जनतासँग पार्टी जोड्ने र सरकारको काम कारबाहीका सम्बन्धमा सुझाव लिने अभियानका रूपमा अर्थ्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *