काठमाडौं । तीन वर्षदेखि बन्द रहेको तिब्बतको मानसरोबार यात्रा खुल्ला गर्ने तयारी गरिएको छ । नेपालमा आफ्नो अनुकुलको सरकार आएसँगै चिनियाँ पक्षले तिब्बततर्फको नाका खोलेर मानसरोबार यात्रा सुचारु गर्न लागेको हो ।
महातीर्थका रुपमा चिनिने कैलाश मानसरोवर जान भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाइरहेको समाचार आइरहँदा चिनियाँ पक्षले कोभिड महामारीलाई देखाउँदै सीमा नाका बन्द गरेको थियो ।
मानसरोबार यात्रा खुल्ला गर्न अन्तिम सम्झौताको तयारी भइरहेको एशोसियशन अफ कैलाश टुर अपरेटर्सका उपाध्यक्ष कृष्णप्रसाद ढकालले बताए । नेपालबाट वार्षिक २० देखि २४ हजारसम्म पर्यटक पवित्र धार्मिक स्थल कैलाश मानसरोवर यात्रामा जाने गरेका थिए ।
ढकालले कैलाश मानसरोवर यात्रा बन्द हुँदा व्यवसायीसहित तीर्थ यात्रीहरु निराह रहँदै आएका थिए भन्दै तिब्बतको नाका खोल्ने कुराले नयाँ संभावना बढेको बताए । उनका अनुसार चीनको सिमानासम्वन्धी निकायले आउँदो अंग्रेजी मे महिनाबाट यात्रा खुल्ला गर्न लागेको हो । यद्यपि यसको अन्तिम सम्झौता बाँकी रहेको ढकालले बताए ।
कैलाश यात्रालाई ‘ब्रह्माण्डको केन्द्रमा आध्यात्मिक यात्रा’को रुपमा हेरिन्छ । कैलाश भनेको खाङ रिम्पोचे भएको र यसले हिउँको बहुमूल्य रत्नलाई जनाउने धार्मिक व्यक्तिहरुको भनाई छ । माउन्ट कैलाश (६,७१४ मिटर) उचाइमा रहेको छ । निकै ठूलो शक्ति रहेको मानिने यस पहाडमा भगवान शिव पार्वतीको वास हुने धार्मिक विश्वास छ ।
ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)का प्रथम उपाध्यक्ष प्रदीप पण्डितले आउँदो मे महिनाको पहिलो हप्तादेखि कैलाश यात्रा खोल्ने तयारी भएको बताए । केरुङ नाका खोल्ने कुरा चलेसँगै बुकिङहरु आउन थालेको उनले बताए । पण्डितले भने, ‘नेपाल माउन्ट कैलाश मानसरोवर जाने प्रवेशद्धार हो । कैलाश यात्रामा जाने धार्मिक पर्यटकहरुले पशुपतिनाथ र मुक्तिनाथ दर्शन गर्ने भएकाले नेपालमा पर्यटक आगमनमा पनि वृद्धि हुन्छ ।’ पर्यटकहरु नेपाल हुँदै कैलाश जानुपर्ने भएकाले नेपालमा धार्मिक पर्यटक बढ्ने उनले बताए ।