जनकपुरलाई धार्मिक पर्यटकीय नगरी बनाउने

धनुषा । मधेस प्रदेशको राजधानी रहेको धनुषाको जनकपुरधाम पौराणिक र ऐतिहासिक पर्यटकीयस्थलको रुपमा परिचित छ । जानकी, राममन्दिर, विवाहमण्डप, मणिमण्डप, स्वर्गद्वार, राजदेवी, जनक मन्दिर, गङ्गा आरती, शिव, सङ्कटमोचन, लक्ष्मण, कपिलेश्वर, कुपेश्वरनाथ महादेव, हनुमानगढीलगायत मन्दिर यहाँ अवस्थित छन् ।

महर्षि जनकको पूण्यभूमि र माता जानकीको पवित्र जन्मस्थलको रुपमा देश विदेशमा परिचित यस क्षेत्रको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

मुख्यगरी यहाँ माता जानकीको मन्दिर दर्शन गर्न आउने छन् । आवश्यक व्यवस्थापकीय काम भएमा जानकी मन्दिरको अवलोकन गर्न आउनेले केही दूरीमा रहेका अन्य मन्दिरसमेत अवलोकन गरी आनन्द लिन सक्छन् । यिनै मठमन्दिर अवलोकनका लागि उचित योजना निर्माण र व्यवस्थापन हुन नसक्दा धार्मिक पर्यटकले सोचेअनुसार आनन्द लिन सकेका छैनन् । 

पहिलो पटक जनकपुर आउनुभएकी काठमाडौँकी हीरादेवी बिसीले मठमन्दिरको हिसाबले सुन्दर ठाउँ भए पनि पार्किङ, प्रतीक्षालय र छाडा पशुचौपायाको व्यवस्थापन हुन सके अझ सहज हुने बताउनुभयो । “मन्दिर दर्शन गर्न आएकाले सडक छेउमै गाडी राख्नुपर्ने अवस्था छ, मन्दिर घुमिसकेपछि थकाइ मार्ने उपयुक्त बस्ने ठाउँको पनि व्यवस्थापन रहनेछ”, उहाँले भन्नुभयो, “स्थानीय सरकारले उपयुक्त पार्किङस्थल, सफा शौचालय र बसेर आराम गर्न मिल्ने ठाउँको व्यवस्था गरेको भए राम्रो हुने थियो ।”

जनकपुरधाम उपमहानगरपालिकाले भने धार्मिक पर्यटकका यस्तै गुनासालाई सम्बोधन गर्न धार्मिक क्षेत्र सुधारका काम गरिरहेको जनाएको छ । उपमहानगर प्रमुख मनोजकुमार साहले आफ्नो प्रमुख प्राथमिकतामध्ये धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी विकासका गतिविधि गर्नु रहेको बताउनुभयो । उहाँले धार्मिक पर्यटकलाई लक्षित गरी योजनाबद्ध रुपमा धार्मिक क्षेत्र सुधारका काम अगाडि बढाइएको बताउनुभयो । 

“जनकपुरलाई धार्मिक पर्यटन नगरीका रुपमा विकास गर्न सोहीअनुसार मैले योजना बनाएको छु”, नगरप्रमुख साहले भन्नुभयो, “त्यही योजनाअनुसार फोहरमैला व्यवस्थापन, पार्किङ निर्माण र फुटपाथ निर्माणको काम हुँदैछ ।” जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथ मन्दिर छेउमा बनाउन लागिएको सुविधा सम्पन्न पार्किङ सोही योजनाको सुरुआती भएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *