गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताउनुभएको छ ।

गोदावरी नगरपालिका–५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत अनुगमन निरीक्षणका क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री दाहालले सो मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय हिजो नै मन्त्रिपरिषद्को बैठकले गरेको जानकारी दिनुभयो ।

“शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भनेर हिजो नै क्याबिनेट राखेर सैद्धान्तिक निर्णय भएको छ, अब व्यावहारिक रुपले यो मेडिकल कलेज चलाउनेतिर तीव्र गतिमा अगाडि जान्छ ।”

पहिलो पटक प्रधानमन्त्री हुँदा पनि सुदूरपश्चिममा केही काम गर्ने र सबैभन्दा धेरै सुदूरपश्चिममा नै आएर आयोजनाको अवलोकन गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो,“यस पटक पनि प्रदेशस्तरमा विकास आयोजनाको अनुगमन गर्ने काम सुदूरपश्चिमबाटै भएको छ देशकै निम्ति गौरबको राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा बन्दैछ ।”

सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री दाहालले मेडिकल कलेज सञ्चानका लागि कुर्नै पर्दैन भन्नुभयो । अवलोकनका क्रममा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गुरुयोजना बमोजिमका कलेजका झण्डै ४२ संरचना मध्ये २८ भवन संरचना तयार भई निर्माण कम्पनीले हस्तान्तरण गरिसकेको छ । बाँकी संरचना हस्तान्तरणको चरणमा छन् । आगामी असारसम्म सबै संरचनाको निर्माण पूरा भइसक्ने जनाइएको छ । हाल खानेपानी, सडक पूर्वाधार जस्ता साना आयोजनाको काम निर्माणाधिन रहेको कार्यकारी निर्देशक पुजाराले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us