काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक यातायात ठप्प

काठमाडाैँ । काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक यातायात आज ठप्प रहेका छन् । यातायात मजदूरहरुको आन्दोलनका कारण आज सार्वजनिक सवारी साधनमा हड्ताल गरिएको हो । यसका कारण कार्यालय र काममा जानुपर्ने सर्वसाधारणहरु मर्कामा परेका छन् । धेरैजसो यात्रु हिँडेर नै गन्तव्यतर्फ लागेका छन् ।

यातायात व्यवसायीले नयाँ बसपार्कभित्र आफ्ना कम्पनीको सवारीसाधन ‘पार्किङ’ गर्न लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरे पनि मजदुरले भने त्यसको विरोध गरेका छन् । विसं २०५६ मा काठमाडौँ महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरेर काठमाडौँ महानगरपालिका–२६ गोँगबुस्थित विष्णुमती किनारामा राष्ट्रिय बसपार्कका रूपमा सञ्चालनमा ल्याएको थियो ।

उक्त बसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्नेबारे यातायात व्यवसायीहरूको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग सम्झौता गरेर बसहरू देशका विभिन्न भागमा ओहोर–दोहोर गर्दै आएका छन् । सार्वजनिक ठूला बस नयाँ बसपार्कबाट सञ्चालनमा आए पनि माइक्रोबस र केही बस भने अहिले नयाँ बसपार्क र गोँगबुचोकको बीचको सडकबाट सञ्चालन हुँदै आएका छन् ।

पछिल्लो समय नयाँ बसपार्क र गोँगबुचोकको बीचको सडक विस्तार हुने क्रममा रहेपछि त्यहाँबाट सञ्चालन हुँदै आएका बस र माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे व्यवसायीसँग छलफल भइरहेको बेलामा केही व्यवसायी तथा मजदुर सडकबाट बस सञ्चालन गर्न पाउनुपर्ने अडान राखेर आन्दोलनमा उत्रिएका जनाइएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले एक विज्ञप्ति जारी गरी सोमबार नयाँ बसपार्कमा घटेको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले समस्याको समाधान गर्न सबै पक्ष संयमित भई आ–आफ्नो ठाउँबाट पहल गर्न अपिलसमेत गरेका छन् । साेमबार नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेकाे थियाे । विराेधीहरूले प्रहरीका गाडीमा अागजनी समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us