काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र नेपालबीचको त्रिकोणात्मक एक दिवसीय श्रृंखला काठमाडौंमा मंगलबारबाट हुँदैछ ।
श्रृंखलाको पहिलो खेलमा मंगलबार नेपालले अफ्रिकी मुलुक नामिबियाको सामना गर्ने भएकाे हाे । नयाँ प्रशिक्षक मोन्टी देशाईको नेतृत्वमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको यो पहिलो परीक्षण हुने भएकाे छ । यो खेलमा रोहित कुमार पौडेलले नेपालको कप्तानी गर्ने भएका छन् ।
बलात्कारको आरोपमा मुद्दा खेपिरहेका पूर्वकप्तान सन्दिप लामिछाने पनि मंगलबारको खेलका लागि सहभागी हुने भएका छन् । त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको दोस्रो खेलमा बुधबार नामिबियाले स्कटल्याण्डको सामना गर्ने भएकाे छ ।
७ राष्ट्र सम्मिलित विश्वकप लिग–२ क्रिकेटमा नेपाल छैटौं स्थानमा रहेको छ । श्रृंखलामा ३२ खेलबाट ४६ अंक जोडेको स्कटल्याण्ड शीर्ष स्थानमा रहेकाे छ । ३६ खेलबाट ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा रहँदा ३० खेलबाट ३७ अंक जोडेको नामिबिया तेस्रो तथा ३६ खेलबाट ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा रहेकाे छ ।
पाँचौं स्थानको युएईले २६ खेलबाट २७ अंक जोड्दा २४ खेलबाट १८ अंक जोडेको नेपाल छैटौं तथा २८ खेलबाट ५ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा रहेको छ ।