अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाले दीर्घरोगी बिरामीका लागि निःशुल्क औषधि वितरण गर्न सुरु गरेको छ । गाउँपालिकाभित्र रहेका ९ वटाबाट रोगको पहिंचान गरी अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले बताउनुभएकाे हाे । पालिकाभित्र रहेका दीर्घरोगी बिरामी मध्ये सुगर, प्रेसर र छारे रोगका बिरामीहरूलाई वडामा रहेका स्वास्थ्य संस्थामार्फत निःशुल्क औषधि वितरण गर्न सुरु गरेको उहाँले बताउनुभयो ।
गाउँपालिकाको पहिलो निर्णयमा नै पालिकाले दीर्घरोगीहरुको पहिंचान गरेर निःशुल्क औषधि वितरण गर्ने भनेकाे थियाे । सोही बमोजिम हालसम्म १३ सय ६० जनाको नाम संकलन भएको छ । पहिलो चरणमा ति व्यक्तिहरुलाई निःशुल्क औषधि वितरण गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष भट्टराईको भनाइ छ ।
गाउँपालिकाकी उपाध्यक्ष दिपा पोखरेलले गाउँपालिकाबाट भन्दा वडाका स्वास्थ्य संस्थाबाट दीर्घरोगीहरूका लागि औषधि वितरण गर्दा नागरिकलाई सहज हुने बताउनुभयाे । सोही अनुसार सेवा प्रभाहमा लागेको उहाँले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर ५ का स्थानीय रणबहादुर बस्नेतले पालिकाले प्रदान गर्ने निःशुल्क औषधि मध्ये आफूले प्रेसरको औषधि पहिले पटक प्राप्त गर्दा निकै खुशी भएको बताउनुभयो ।