काठमाडौं। पर्साको ठोरीमा जीपको ठक्करबाट १३ वर्षीय बालक विश्वास श्रेष्ठको मृत्यु भएको छ। ठोरीबाट वीरगञ्ज जाँदै गरेको बागमती प्रदेश-१ ०२७च-०३०३ नम्बरको स्कर्पियोले मंगलबार ठोरी गाउँपालिका-४ विजयवस्तीस्थित हुलाकी सडक खण्डमा कोचिङ पढेर घर फर्किँदै गरेको बालकलाई ठक्कर दिएको थियो।
ठक्करबाट बालक घाइते भएका थिए। उनको टाउको र शरीरमा गम्भीर चोट लागि उपचारार्थ तराई अस्पताल वीरगञ्ज लगे पनि उपचारका क्रममा बिहान सवा १० बजे उनको मृत्यु भएको प्रहरी चौकी विजयवस्तीले जनाएको छ। दुर्घटनापश्चात् फरार रहेको उक्त जीप र त्यसका चालक चितवन माडी-३ बस्ने वर्ष २५ को पदम विलास पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालक श्रेष्ठको शवको मुचुल्का उठाई थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।