राष्ट्रपतिको निर्वाचनका लागि औपचारिक प्रक्रिया सुरु

काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मतदान गर्ने मतदाताहरुको नामावली प्रकाशन गरेसँगै आजबाट प्रक्रिया सुरु हुने भएको छ।

१३ गते मनोनयन र २५ गते हुन लागेको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली टुंग्याएको जनाएको छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले आज नामावली प्रकाशन गर्ने तयारी गरेको छ । राष्ट्रपति निर्वाचनको लागि संघीय संसदका ३३४ र प्रदेश सभाका ५५० गरी कुल ८८४ मतदाता मत खसाल्न योग्य हुन्छन् ।

आज बिहान १० बजेदेखि १२ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ भने आजै १२ बजेदेखि ३ बजेसम्म मतदाता नामावली उपर निवेदन तथा उजुरी दिन सकिने उल्लेख गरेको छ ।बिहीबारसम्म दाबी विरोधको उजुरी दिन सकिनेछ भने दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिनेछ ।

उजुरीमाथिको छानबिन गरी शुक्रबार अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यक्रम छ। शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ ।

राष्ट्रपति निर्वाचन फागुन २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सदस्य मतदाता हुनेछन् । २०७८ सालको जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक नभएकाले २०६८ सालको जनगणनाकै मतभारका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *