मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्री केशबप्रसाद पोखरेलले आफ्नो प्रतिबद्धता कार्यन्वयन गर्न सुरुवात गरेका छन् । आज मन्त्रालयमा टोल फ्रि नम्बरको उद्घाटन गर्दै प्रतिबद्धता कार्यन्वयमा अग्रसर भएका हुन् ।
पोखरेलले आफुले मन्त्रालयको जिम्मेवार सम्महालेसँगै ४४ बुँदे प्रतिबद्धता जाहेर गरेका थिए । प्रतिबद्धता कार्यन्वयन स्वरुप आज मन्त्रालयले टोल फ्रि नम्बरको स्थापना गरेको हो ।
अब प्रदेशभरीका किसानहरुले आफ्ना समस्या मन्त्रालयमा सिधै पैसा नलाग्ने नम्बरमा फोन गरेर टिपाउन सक्नेछन् । किसानसहित मन्त्रालयसँग सरोकार राख्नेहरुको समस्या सुन्नको लागि निःशुल्क सेवाको रुपमा ‘टोल फ्रि नम्बर’को सुरुवात गरेको हो ।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री केशबप्रसाद पोखरेलले निःशुल्क टेलिफोन सेवाको सुरुवात गर्दै टोल फ्रि नम्बरले किसानहरुले सिधै मन्त्रालयसँग पहुँच राख्नसक्ने बताए ।
मन्त्रालय प्रति किसान वा सरोकारवालाले टोल फ्रि नम्बर १८१०५००००११ नम्बरमा निःशुल्क रुपमा फोन गरेर आफ्ना समस्या, गुनासोहरु टिपाउन सक्नेछन् । यो सेवा हाललाई कार्यालय समयमा मात्र हुने मन्त्रालयले जनाएको छ । फोनको चाप बढेको अवस्थामा समय पनि बढाउने मन्त्री पोखरेलको भनाई रहेको छ ।
टोल फ्रि नम्बरले किसानको समस्या पहिचान हुने र प्राथमिकताको आधारमा उनिहरुको समस्यालाई समाधान गर्न मन्त्रालयले काम गर्ने मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले बताए ।