युवामाथि सिङ्गो राष्ट्रको आशा र भरोसा रहेको छ: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै युवामाथि सिङ्गो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको छ । उहाँले वर्तमान अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभयो ।

“तपाईंहरुमाथि अभिभावकको मात्र आशा र सपना निहीत नभई प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ । त्यसैले उत्कृष्ट समाज निर्माणका लागि यसै युवा अवस्थामा तपाईंहरूले आफ्नो मनोबल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ”, उहाँले भन्नुभयो ।

युवाको व्यक्तित्व विकास गर्ने उद्देश्यले विसं २०२२ बाट ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने मान्यतासहित राष्ट्रिय सेवा दलको स्थापना भएको थियो । राष्ट्रिय आवश्यकताको अनुपातमा राष्ट्रिय दलको तालिमको मात्रात्मक उपस्थिति पर्याप्त नभएको उल्लेख गर्दै उहाँले आगामी दिनमा तालिममा सहभागीको सङ्ख्या विस्तार गर्न सरकार गम्भीर रहेको बताउनुभयो ।

उहाँले आगामी दिनमा सङ्ख्या वृद्धि गरी तालिमको गुणस्तरमासमेत थप प्रभावकारिता ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमले युवालाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको बताउनुभयो ।

नैतिकवान्, क्षमतावान् र देशभक्त युवा तयार गरी राष्ट्रको आवश्यकता सम्बोधन गर्ने उद्देश्यसहित राष्ट्रिय सेवा दल स्थापना भएको उल्लेख गर्दै उहाँले राष्ट्रलाई आवश्यक परेको बेलामा निःस्वार्थ सेवाभावबाट समर्पित भई नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *