अपरान्ह ५ बजे चार दलको बैठक फेरि बस्दै

काठमाडौं। चुनावअघिको सत्ता गठबन्धनमा रहेका चार दलले आज अपरान्ह ५ बजे फेरि बैठक गर्ने भएका छन्। शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपाका शीर्ष नेताहरूको बैठक तीन घन्टासम्म चलेको थियो।

बैठक राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेको थियो। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले राष्ट्रपतिमा आफूहरूलाई सहयोग गर्नुपर्ने प्रस्ताव राख्नुभएको थियो। कांग्रेसबाहेक अन्य दलले पनि सहमतिको राष्ट्रपति उम्मेदवारबारे कुराकानी राखेका थिए। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरूबीच छलफल भएको थियो।

बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति निर्वाचनबारे बैठकमा छलफल भएको बताउनु भयो। उहाँकाअनुसार आन्तरिक छलफल गरेर दलहरू पुनः आज साँझ ५ बजे बैठक बस्ने तयारी छ। आज अपरान्ह ५ बजे फेरि बैठक बस्छ। त्यो बैठकले राष्ट्रपतिको उम्मेदवार तय गर्छ,’ महामन्त्री थापाले बालुवाटारमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *