काठमाडौं । चार दलीय गठबन्धनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल उम्मेदवार बन्ने लगभग निश्चित भएको छ। शुक्रबार बिहान बालुवाटारमा भएको छलफलबाट उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन लगभग सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
बिहान ४ घण्टा बसेको बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिमा कुरा मिलिसकेको उनको दाबी छ। उनका अनुसार अन्य ‘पावर सेयरिङ’का लागि दलहरुको आन्तरिक छलफल गर्नुपर्ने भएकाले सहमतिलाई अन्तिम रुप दिन नसकिएको हो।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पनि पौडेल राष्ट्रपति बन्ने तय भएको बताएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकबाट बाहिरिने क्रममा शर्माले उक्त कुरा बताएका छन्।
शर्मालाई सञ्चारकर्मीले राष्ट्रपतिमा रामचन्द्र पौडेल हो? भन्न्ने प्रश्न गरेका थिए। जवाफमा शर्माले भने,‘पक्कै पनि त्यही होला।’ साँझ पाँच बजे बस्ने चार दलीय गठबन्धनको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। उनले राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि प्रस्ताव गरेको बालुवाटार स्रोतले जनाएको छ।