काठमाडौँ, १७ फागुन । माओवादी केन्द्र फुटको संघारमा पुगेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित गर्न पार्टीले सघाएको भन्दै माओवादीका नेता नारायणकाजी श्रेष्ठले निरन्तर विरोध गर्दै आइरहेका थिए ।
कुनै पनि हालतमा एमसीसी अनुमोदन गर्न नहुने अडानमा रहेका श्रेष्ठलाई पेल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तथा सत्ता जोगाउन एमसीसी पारित गर्ने निर्णय गरेका थिए ।
त्यसपछि झनै चिसिएको सम्बन्ध तब छाताछुल्ल भयो जब प्रचण्डले सोमबारको पत्रकार सम्मेलनमार्फत नेता श्रेष्ठलाई छोडेर गए हुन्छ भने ।
पूर्वएकताकेन्द्र समूहका नेताहरूले माओवादी पार्टीबाट अलग हुने सम्भावना बढेको छ । त्यही सुइँको पाएका अध्यक्ष प्रचण्डले उनीहरुलाई फकाउन मंगलबार हात्तिवनस्थित नारायणकाजीको निवासमा पुगेका बताइएको छ । श्रेष्ठनिकट नेताहरुका अनुसार प्रचण्डको अपमान सहेर पार्टीमा बस्ननहुने भन्दै दवाव परेको बताइएको छ ।
प्रचण्डको सोमबारको अभिव्यक्तिलाई एकताकेन्द्रका नेताहरुले अपमानको रुपमा बुझेका बताइएको छ । पार्टी भित्रै चर्को असहमति र विरोधका बाबजुद पनि प्रचण्डको एक्लो निर्णयले एमसीसी पारित गर्न पुगेका थिए । त्यसैका कारण पार्टी नै फुट्न लागेको बताइएको छ ।