काठमाडाैं । परराष्ट्रमन्त्री डा. बिमला राई पौडेल संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन आइतबार जेनेभा प्रस्थान गर्नुहुने भएको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर मन्त्री पौडेल जेनेभा प्रस्थान गर्न लाग्नुभएको जानकारी गराएको हो । बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिहरुको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री पौडेलले बताउनुभयो ।
नेपाल सोही परिषद्को सदस्य राष्ट्र हो । सदस्य राष्ट्रको हैसियतले यस क्षेत्रमा आफूले गरेको प्रगतिकाे बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन र बहुपक्षीय तथा द्विपक्षीय छलफलको माध्यम अन्य मुलुकसँगको सम्बन्धलाई अझै बलियो बनाउने अवसरमा रुपमा पनि सोही बैठकलाई उपयोग गरिने मन्त्री पौडेलले बताउनुभयो ।
मन्त्री पौडेलले सोही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताउनुभयो ।