काठमाडौं । कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन विघटन भएर बनेको एमाले नेतृत्वको सात दलीय गठबन्धन दुई महिना बढी टिकेन । कांग्रेससँग सत्ता गठबन्धनमा रहेको माओवादी पुस १० मा एमालेसँग सत्ता गठबन्धनमा आएको थियो । तर, ६३ दिनपछि पुन माओवादी पुरानै समीकरणमा पुगेको मात्र छैन, सत्ताको भर्याङ बनेको एमाले अपमानजनक रुपमा सरकारबाट बाहिरिएको छ । यसको बाछिटा प्रदेशमा पनि परेको छ ।
गत पुस १० अघिसम्म ७ दलीय समीकरणमा रहेको माओवादी अहिले ८ दलीय समीकरणमा छ । ती ८ दलमा ६३ दिनसम्मसँगै रहेका एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी भने छैनन् । अहिले कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीसँगै जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चा छन् । यी आठ दल एकातर्फ रहँदा संघ र प्रदेश तर्फ नयाँ अङ्कगणित सुरु भएको छ ।
राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सघाउने पुस १० को सहमतिबाट माओवादी पछि हटेलगत्तै एमाले नराम्ररी बिच्किएको छ । अहिले एमाले प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा नेतृत्व गरिरहेको छ । सातै प्रदेशमा एमाले, माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजावादी पार्टी, नागरिक उन्मुक्ति, जनमत मिल्दा बनेका केही सरकारसंकटमा छन् ।
प्रदेश १ मा ९३ प्रदेशसभा सदस्य छन् । सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक हुन्छ । ४७ सांसदको समर्थन आवश्यक पर्ने यो प्रदेशमा एमाले, माओवादी, राप्रपा र जसपामिलेर एमालेको नेतृत्वमा सरकार बनेको थियो । तर, अहिले एमाले र राप्रपा नयाँ गठबन्धनमा छुट्दा यहाँको सरकार पनि धरापमा छ । प्रदेशसभामा नेकपा एमालेको ४० सिट छ । राप्रपाको ६ सिट छ । त्यहा एक सांसद अपुग हुँदा सरकार ढल्न सक्छ । प्रदेश १ मा कांंग्रेस २९, माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी ४ र जसपाको १ सिट छ । यी सबै दल मिल्दा सरकार बनाउन आवश्यक ४७ सिट पुग्छ ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसद आवश्यक पर्छन् । प्रदेशसभामा २३ सांसदसहित नेकपा एमाले प्रदेश सभाको सबैभन्दा ठूलो दल छ । २२ सांसद रहेको कांग्रेस दोस्रो स्थानमा छ । जसपा १६, जनमत पार्टी १३, लोसपाका ९, माओवादी केन्द्रसँग ८ एकीकृत समाजवादीसँग ७ सांसद छन् । मधेस प्रदेश सभामा ६ जना स्वतन्त्र सांसद छन् भने राप्रपाका २, संघीय समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले एक–एक सांसद पाएका छन् ।
एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत मिलेर बनेको सरकारमा अहिले एमाले र राप्रपा बाहिर रहँदा पनि कांग्रेसको इन्ट्रीले जसपा नेतृत्वको सरकार धर्मराउने अवस्था छैन ।