गोरखा । पूर्वप्रदेश प्रमुख तथा राजनीतिक विश्लेषक राजेश झालाई ‘पृथ्वी पुरस्कार’ प्रदान गरिएको छ । सदरमुकाममा शनिबार आयोजित समारोहमा संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले झालाई एक लाख नगदसहित सम्मान गरेको हो ।
३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा घोषणा गरिएको पुरस्कार शनिबार प्रदान गरिएको संगठनका अध्यक्ष भरत क्षेत्रीले बताए । दोस्रो संस्करणको पुरस्कार पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा आएर वितरण गर्न पाउँदा खुसी लागेको क्षेत्रीले बताए ।
पालुङटार नगरपालिका–३ का क्षेत्रीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा गत वर्षबाट १ जनालाई पुरस्कृत गर्ने अभियान थालेका हुन् । पुरस्कार ग्रहण गर्दै झाले प्राप्त रकम समाज निर्माण क्षेत्रमा खर्च गर्ने बताए ।
उनले पृथ्वीनारायाण शाहको दिव्यउपदेशको सान्दर्भिकताबारे चर्चा गरेका थिए । सातवटै प्रदेशमा पृथ्वीनारायण शाहको दिव्यउपदेशबारे छलफल चलाउनुपर्ने धाराणा राखे ।