काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अनुसार सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक बिहीबार बस्ने भएको छ । बैठकमा आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनमा आबद्ध दलहरूको समीकरणका विषयमा छलफल हुने बताइएको छ । बुधबार चितवन पुग्नु भएका प्रचण्डले चुनावी तालमेल केन्द्रबाट नै हुने बताउनु भयो ।
तर, सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले चुनावी तालमेल स्थानीय तहले आवश्यक्ता अनुसार गर्ने निर्णय गरिसकेको छ । सो निर्णय पश्चात् गठबन्धनमा आबद्ध दलहरू समीकरण बनाउन छलफलमा जुट्न लागेका हुन् ।
अध्यक्ष प्रचण्डले कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकता अनुसार तालमेल हुने कुरालाई स्पष्ट पारेको भन्नुभयो ।