उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवलाई मत दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी, नेपालबाट उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले नेपालको संविधानको धारा ६७, धारा ६९ र धारा ७० बमोजिम संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको निर्वाचनमा गठबन्धन दलहरुका तर्फबाट साझा उम्मेदवार रहनुभएका जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिका सदस्य रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

उहाँले संघीय संसदका सदस्य एवं प्रदेश सभाका सदस्यहरुलाई उपराष्ट्रपति पदका उम्मेदवार यादवको पक्षमा समर्थन गर्न निर्देशन दिने निर्णय भएको बताउनु भयो ।

उहाँले २०८० वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र लगायत उपनिर्वाचन हुने अन्य प्रतिनिधि सभा सदस्यतर्फको प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) बमोजिम क,ख,ग बमोजिमको प्रक्रिया पुर्‍याइ उम्मेदवारको नाम प्रश्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई उपयुक्त समयमा निर्देशन गर्ने निर्णय भएको बताउनु भयो ।

प्रवक्ता महतले सरकारका जाने कुरामा बैठकमा छलफल नभएको र प्रधानमन्त्रीले ७ गतेसम्म विश्वासको मत लिएपछि मात्रै सरकार बिस्तार हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *