काठमाडौं। नेकपा एकीकृत समाजवादी निकट कर्मचारी संगठनले संघीय निजामती ऐन अविलम्ब ल्याउन माग गरेको छ । फागुन २६ र २७ गते भक्तपुरमा सम्पन्न प्रथम राष्ट्रिय अधिवेशनले प्रशासनिक संघीयता कार्यान्वयनको अनिवार्य औजार संघीय निजामती सेवा ऐन अविलम्व जारी गर्न माग गरेको हो । त्यसका लागि संगठनले दवाव दिने निर्णय गरेको संगठनका महासचिव प्रकाश राईले बताउनु भयो ।
संघीय निजामती सेवा ऐनको आधारभूत अन्तर वस्तुहरूको सवालमा संगठनले अगाडि सार्दै आएका दृष्टिकोणहरु प्रति प्रतिवद्ध रहने निष्कर्ष अधिवेशनले अगाडि सारेको छ । त्यस्तै वैज्ञानिक सरुवा प्रणाली अर्थात स्वचालित र अनुमानयोग्य सरुवा प्रणाली लागू गर्नुपर्ने संगठनको माग छ । सरुवाको वेथिति प्रति अधिवेशनले गम्भिर समीक्षा गरेको भन्दै सरुवा प्रणालीलाई स्वाचालित र अनुमानयोग्य बनाउने अभियान र आन्दोलनको अगुवाइ गर्ने निर्णय अधिवेशनले गरेको महासचिव राईले मंगलबार आयोजित प्रेस भेटघाटका क्रममा बताउनु भयो ।
सरुवा प्रणाली वैज्ञानिक बनाउनका लागि संघीय निजामती सेवा ऐन जारी भएको मितिमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई पुल दरबन्दीमा राखी स्वचालित सरुवा प्रणाली स्थापना गरि पुनः पदस्थापना गर्नुपर्ने माग अघि सारेको छ । तल्लो तहका कर्मचारी निकै खटिएर काम गर्नुपर्ने तर, माथिल्लो तहका कर्मचारी कामै नगरेर बस्ने गरेको संगठनको ठहर छ । राष्ट्रिय अधिवेशनबाट गगनसिंह विष्टको अध्यक्षतामा एक सय ३९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचन गरिएको छ ।