निर्वाचन स्थगगित भएका क्याम्पसहरुमा चैतमा निर्वाचन सम्पन्न गर्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएका क्याम्पसहरुमा चैतमा नै निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ ।

त्रिविले यहि चैत १२ गते अघि नै निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको हाे। त्रिविका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले एक विज्ञप्ति जारी गर्दै यस्ताे निर्देशन दिनुभएकाे हाे । उहाँले चुनाव रोकिएका क्याम्पसमा पनि तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन र १२ गतेभित्र सम्पन्न गर्न समेत निर्देशन दिनुभएकाे छ ।

उहाँले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुने भएकाले त्यस अघि नै निर्वाचन सम्पन्न गर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको हाे । १४ वर्षपछि आइतबार त्रिवि अन्तर्गतका क्याम्पसहरुमा स्ववियु निर्वाचन गर्ने तय भएकोमा केही क्याम्पसहरुमा विवादका कारण निर्वाचन स्थगित भएको छ ।

उपत्यकामा त्रिचन्द्र, आरआर क्याम्पस, अमृत साइन्स, पाटन संयुक्त, नेपाल कर्मश र विश्वभाषा क्याम्पसमा निर्वाचन अवरुद्ध भएकाे छ । पोखराको पृथ्वीनारायण, पश्चिमाञ्चल इन्जिनियरिङ, पोखरा वन विज्ञान र पोखरा नर्सिङ क्याम्पसमा पनि निर्वाचन हुन सकेको छैन ।

त्यस्तै, वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धौलागिरी बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पसमा पनि निर्वाचन रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *