एक महिनामै ६१ हजारले लिए श्रम स्वीकृति

काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा रोजगारीको लागि विदेशिनेको युवा युवतीको दिनहुँ लर्को देखिने गरेको छ । स्वदेशमै उचित खालको रोजगारी सृजना हुन नसक्दा युवा युवती विदेश जान बाध्य भएका हुन् । 

सक्षम र पहुँच हुने खालका युवा युवतीहरु रोजगारीको लागि अमेरिका, जापान, दक्षिण कोरिया, इजरायल र पोर्चुगल लगायतका मुलुक जाने गरेका छन् । ती मुलुक जान नसक्नेहरु दुबई, कतार र मलेशिया लगायतका मुलुक जाने गरेका छन् ।

रोजगारीका लागि दुबई, कतार र मलेशिया जानेहरुले श्रम विभागबाट श्रम स्वीकृति लिनुपर्ने प्रावधान छ । फागुनमा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन् । फागुनमा नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति र व्यक्तिगत गरी ६१ हजार ८ सय ४५ ले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । 

फागुनमा सबैभन्दा बढी मलेसियाका लागि १९ हजार ८ सय २४ ले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार ३ सय ३, संयुक्त अरब इमिरेट्सका लागि ९ हजार ७ सय ९५, साउदी अरेबियाका लागि ९ हजार ५ सय ३, कुवेतका लागि २ हजार ४ सय ६२, दक्षिण कोरियाका लागि २ हजार १ सय २७ र रोमानियका लागि १ हजार ७० जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

वैदेशिक रोजगारीका लािग श्रम स्वीकृति लिनेमा अदक्ष कामदारको संख्या उल्लेख्य छ । फागुनमा १३ हजार ५ सय ८० अदक्ष कामदारले श्रम स्वीकृति लिएका छन् । ४२ हजार७ सय १८ दक्ष, ५ हजार ४ सय ४९ अर्धदक्ष, ६८ व्यावसायिक र ३० उच्च दक्ष श्रमिकले श्रम स्वीकृति लिएको विभागले जनाएको छ  l

Leave a Reply

Your email address will not be published. Required fields are marked *