लण्डन, १८ फागुन । रुस–युक्रेन द्वन्द्व प्रभावित ३०२ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् ।
गैरआवासीय नेपाली संघको रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवम् उद्धार उच्चस्तरीय समितिले दिएको जानकारी अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायत देशमा पुगेका छन् ।
समितिका अनुसार मंगलबारसम्म २३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका हुन् ।
यसअघि, जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीहरुलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।
यसैबीच रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी केभमा रहेका सम्पूर्ण नेपालीहरुले युक्रेन छोडेको जानकारी दिए । उनले पछिल्लो समयमा रुसमा रहेका नेपाली विधार्थीहरु चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेको जानकारी दिए ।