मिटर ब्याज पीडितसँग वार्ता गर्न समिति गठन

काठमाडौं । मिटर ब्याज पीडितहरु संघीय राजधानीमै आएर आन्दोलन थालेपछि सरकारले मिटर ब्याज पीडितसँग वार्ता गर्न समिति गठन गरेको छ । सरकारले त्यसप्रति चासो लिँदै समस्या समाधानको लागि सम्बन्धित पक्षसँग वार्ता गर्न समिति बनाएको हो ।

सरकारले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि सहितको वार्ता समिति बनाएको हो । वार्ता समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहनु भएको छ ।

४ सदस्यीय वार्ता टोलीले मिटर ब्याज पीडितसँग छलफल गर्ने र उनीहरुलाई आफ्ना समस्या प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भेटेर सुनाउने वातावरण बनाउने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभएको छ ।

मिटरब्याज पीडितहरु न्याय माग्दै महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर काठमाडौं आएका हुन् । उनीहरु मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै प्रहरीले टंगालमा रोकेको थियो । त्यहाँ गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले पीडितहरुलाई भेटेर आन्दोलन स्थगित गर्न आग्रह गर्नुभएको थियो । पीडितका प्रतिनिधिहरुले भने आफूहरुलाई प्रधानमन्त्रीसँग भेटाइदिन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी गरेको सचिवालयले जनाएको छ । आज दिउँसो बस्ने मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ले पीडितहरुलाई भेट्ने योजना बनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us