काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवारले मनोनयन दर्ता गराउँदा मनोनयन पत्रका साथ १९ बुँदे स्वघोषणा गर्नुपर्ने भएको छ ।
निर्वाचन आयोगको बुधबार बसेको बसेको बैठकले उम्मेदवार मनोनयन गर्दा उम्मेदवारीको औचित्य र निर्वाचन आचार संहिता पालनाको प्रतिवद्दता सहित १९ बुँदे स्वघोषणा गर्नुपर्ने निर्णय गरेको हो ।
निर्देशिकामा निर्वाचन अधिकृतसम्बन्धी व्यवस्था, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा कर्मचारी सम्बन्धी व्यवस्था, निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुको काम, कर्तव्य र अधिकार, उम्मेदवारको योग्यता तथा मनोनयन, मतदाता नामावली, मतदान र मतगणना सम्बन्धी व्यवस्था लगायत निर्वाचनको प्रभावकारी व्यवस्थापनको निम्ति आवश्यक विषयहरु समावेश गरिएका छन् ।
आयोगले नेपालको संविधान तथा निर्वाचन सम्बन्धी प्रचलित कानूनी व्यवस्था समेतको आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानून बमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको हो । आफूले गरेको स्वघोषणा प्रति उम्मेदवार स्वयं जिम्मेवार हुनुपर्ने छ ।
यस्तै बैठकले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो।