काठमाडौं । पछिल्लो समय व्यावसायिक खेती गर्नेहरुले आयातीत बीउले प्रयोग बढाएका छन् । नेपालमा अहिले जापानी बीउको माग अत्यधिक रहेको छ । त्योसंगै नेपाली स्थानीय तथा भारतीय बीउको बजार पनि उत्तिक्कै छ । त्यसबाहेक नेपालमा तेस्रो देशबाट पनि बीउ आयात गरिन्छ । त्यस्तै, किटनासक औषधि, कोकोपीट तथा कम्पोस्ट मलको माग पनि नेपालको कृषि क्षेत्रमा रहेको छ । किटनासक औषधि चीन र भारतबाट आयात गरिन्छ ।
त्यस्तै, कोकोपीट भारतीय बजारबाट आयातीत गरीन्छ । समयमा मल नपाउने, बीउको आयातमा पनि अवरोध हुने तथा सरकारले विभिन्न प्रकारका हाईब्रीड बीउमा रोक लगाएका कारण पछिल्ला केही वर्ष यता बीउको व्यापार घटेको व्यापारी बताउँछन् । त्यसमा पनि समयमा पानी नपर्दा कृषि सामग्री बिक्री घटेको व्यापारी बताउँछन् । यता, सरकारले कृषि क्षेत्रमा ठूलो अनुदान दिएपनि वास्तविक किसान अनुदानबाट वञ्चित छन् समयमा रासायनिक मल, बीउको अभावले किसानलाई थप निरास बनाएको कृषि व्यवसायी दिपक बस्नेत बताउनुहुन्छ ।
मुलुकको अर्थतन्त्रमा कृषिको निर्णायक योगदान छ । तर कृषि क्षेत्रमा सरकारको लगानी भने नगन्य छ । स्थानीय उत्पादनले बजार नपाउने, कृषिमा दक्ष प्राविधिकको कमी, स्थानीय उत्पादन भण्डारणको अभावले कृषिक्षेत्र थप चुनौतिपूर्ण बन्दै गएको छ । यस अवस्थामा जीविकामुखीबाट कृषिलाई व्यावसायिक बनाउने तर्फ सोच्न जरुरी छ ।