रौतहटमा गोरखा संग्रहालय बनाए जग्गा दिन तयार छुः पूर्वप्रदेश प्रमुख अहिराज

काठमाडौं । मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले गोरखा संग्रहालय तराईमा पनि विस्तार गर्न माग गरेका छन् । आइतबार गोरखा संग्रहालय पुगेर उनले गोरखा संग्रहालय स्थापना गर्न रौतहटस्थित आफ्नो जग्गा उपलब्ध समेत गराउने प्रतिवद्धता पत्र पेश गरेका छन् ।

गोरखा संग्रहालय प्रमुख नवराज अधिकारीलाई हस्तान्तरण गरिएको सो पत्रमा गढीमाई नगरपालिका वडा नं. ४ स्थित सुन्दरपुर संग्रामपुर क्षेत्रमा गोरखा संग्रहालय स्थापना गर्न आठ कठ्ठा जग्गा उपलब्ध गराउने प्रतिवद्धता उनले गरेका छन् ।

‘रौतहट जिल्ला गढिमाई नगरपालिका ४ सुन्दरपुर क्षेत्रमा गोरखा दरबार संग्रहालय विस्तार गरी नेपाल एकीकरणसंग सम्बन्धित ऐतिहासिक जानकारीहरु त्यस भेगका जनतालाई सम्प्रेषण गरी राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्न स हयोग पुग्ने देखिन्छ’, अहिराजद्वारा संग्रहालय प्रमुख नवराज अधिकारीलाई पेश गरिएको पत्रमा लेखिएको छ, ‘उक्त स्थानमा पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गाका लागि मेरो निजी भोगाधिकारभित्र रहेको जग्गाबाट आठ कठ्ठा जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछु ।’

पत्र बुझ्दै गोरखा संग्रहालय प्रमुख नवराज अधिकारीले यो अवधारणा अत्यन्त गम्भीर र रचनात्मक रहेको बताएका छन् । ‘रौतहटमा गोरखा संग्रहालय विस्तार गर्न अनुरोध गर्नुभएको छ । त्यसका लागि त्यहाँ जग्गा निशुल्क उपलब्ध गराउने लिखित प्रतिवद्धता व्यक्त पनि गर्नुभएको छ’, उनले भने, ‘यो बर्ष गोरखा संग्रहालय विस्तार गर्ने हाम्रो योजना पनि छ । तर यसमा सबै काम गर्ने विभागले नै भएकाले म विभागमा यो पत्र फर्वाड गर्नेछु ।’

गोरखा संग्रहालय पुगेका अहिराजले नेपाल एकीकरण अभियानमा योगदान गर्ने मधेशी, मुस्लिम, दलित र महिलाको योगदान झल्कने सामग्रीहरु पनि ग्यालरीमा राख्न अनुरोध गरेका छन् । त्यहाँभित्र पृथ्वीनारायण शाहको शालिक तथा नेपाल एकिकरण महाअधियानसंग सम्बन्धित बस्तुहरुको श्रव्यदृश्य सामग्रीहरु राखी सर्वसाधारणलाई नेपाल एकीकरणसंग सम्बन्धित विषय बस्तुको थप जानकारी दिन सकिने उनले बताएका छन् । साथै उनले तराईमा गोरखा संग्रहालय निर्माण गर्न आफ्नो नीजि कोषबाट आर्थिक सहयोग गर्ने पनि प्रतिवद्धता जनाएका छन् । साथै उनले यस बिषयमा मधेश प्रदेश सरकार र पुरातत्व विभागमा पनि पहल गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *