काठमाडौं । निर्वाचन आयोगले १० गते हुने उपनिर्वाचनको उम्मेदवारहरुको नामावली आज प्रकाशन गरिँदैछ। उम्मेदवारहरुको नामावली बुधबार साँझसम्म प्रकाशन हुने आयोगले जनाएको छ ।
आयोगका अनुसार आज बेलुकी ५ बजेसम्म उम्मेदवारविरुद्ध परेका उजुरीको छानविन हुनेछ । उजुरी छानविनपछि साँझ ६ बजेभित्र उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ। तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ। त्यसका लागि सोमबार ३ वटै क्षेत्रमा उम्मेदवारी दर्ता भएको थियो। उम्मेदवारहरूविरुद्ध उजुरी दिन मंगलबारसम्मको समय तोकिएको थियो।
चितवन २ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध ४ उजुरी परेका छन्। अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई आज दिउँसो १ बजेभित्र स्पष्टिकरण पेश गर्न भनेको छ। बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ताका लागि आयोगले समय तोकेको छ। सोही दिन दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारले चुनाव चिह्न पाउनेछन्।