काठमाडौं । सत्ता गठबन्धनले बागमती प्रदेशमा मन्त्रालय भागबण्डा टुंगो लगाइएको छ। बागमतीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मन्त्रालय भागबण्डा टुंग्याएका हुन् ।
गठबन्धनमा कांग्रेसले ५ र एकीकृत समाजवादीले २ मन्त्रालय पाउने सहमति भएको छ । भागबण्डा मिलानपछि बागमतीमा मन्त्रिमण्डल बिस्तार हुने भएको छ । थप मन्त्रीहरु नियुक्तिको तयारीमा रहेको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिनुभएको छ ।
मुख्यमन्त्री जम्मकट्टेलले मन्त्री बन्नेहरु अधिकांशको नाम टुंगो लागिसकेको बताउनुभयो । ‘सत्ता गठबन्धनमा रहेका दलहरूले मन्त्री बन्नेहरूको नामको टुङ्गो लगाएर नपठाउँदा केही समस्या भएपनि अब धेरैजसोको नाम आइसकेको छ,’ उहाँले भन्नुभयो ‘सकेसम्म आइतबार नियुक्ति दिएर शपथ गराउने तयारीमा पनि हामी छौं।’
आर्थिक मामिला मन्त्रालयसहित यसअघि नेकपा एमालेले सम्हालेका मन्त्रालय र अन्य एक मन्त्रालय कांग्रेसले लिने समझदारी बनेको छ। तर, कांग्रेसले मन्त्री बन्नेहरूको नामावली भने टुंगो लगाउन सकेको छैन।
केन्द्रमा सत्ता परिवर्तन भएसँगै बागमतीमा पनि नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएको थियो। एमाले र राप्रपा बाहिरिएपछि मुख्यमन्त्री जम्मकट्टेलले १० चैतमा प्रदेशसभबाट विश्वासको मत प्राप्त गर्नुभएको थियो । गठबन्धन दलबीच मन्त्रालयको भागबण्डा नमिल्दा मुख्यमन्त्रीले विश्वासको मत पाएको २ सातासम्म पनि मन्त्रिमण्डल बिस्तार हुन सकेको छैन । मन्त्रिमण्डल नहुँदा ८ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्मकट्टेलको काँधमा छ।