एसिया छनोटमा नेपाल आज भियतनामसँग भिड्दै

काठमाडौं ।  पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटमा नेपाल आज भियतनामसँग भिड्दै छ । नेपालले पहिलो चरणको दोस्रो खेलमा भियतनामसँग भिड्न लागेको हो । 

दुई देशका महिला फुटबल टिमको प्रतिस्पर्धा आज साँझ ६ बजे  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।  यसअघि दशरथ रंगशालामै भएको पहिलो खेलमा नेपाललाई भियतनामले ५–१ गोल अन्तरले पराजित गरेको थियो।

पहिलो खेलमा फराकिलो हार व्यहोरेका नेपाल शनिबार सम्हालिएर मैदान प्रवेश गर्ने लक्ष्यमा छ। भियतनाम आफ्नो रवाफिलो उपस्थितलाई दोस्रो खेलमा पनि कायम राख्ने ध्याउनमा छ।

नेपालले भने पहिलो खेलमा बेहोरेको फराकिलो हारबाट जोगिएर सान्त्वना जितको लक्ष्य राखेको छ । पहिलो खेलमा गोलरक्षक र डिफेन्समा देखिएको कमजोरीलाई सुधार्नुपर्ने नेपाललाई चुनौती छ। नेपालका मुख्य प्रशिक्षक अनन्त राज थापाले दोसो खेलमा पहिलो खेलका गल्ती सुधार गर्ने बताउनु भएको छ । 

छनोटको समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र प्रतिस्पर्धा गरिरहेको छ। यो समूहमा प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपाल र भियतनाम मात्र रहेका छन्। दुई लेगअन्तर्गत भइरहेको खेलमा समग्रमा अघि रहने टोलीले ओलम्पिक छनोटको दोस्रो चरणमा स्थान बनाउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *